दशैँ बिदामा घुम्न कहाँ जान सकिन्छ ? यी हुन् सम्भावित गन्तव्य

काठमाडौँ - वर्षभरी काम गरेको थकान भुलाउने अवसर बन्नसक्छ दशैँ । सबैभन्दा लामो छुट्टी हुने र मौसमका हिसाबले पनि अनुकुल समय भएकाले धेरैले दसैंमा घुम्ने अवसर जुटाउँछन् ।

हामीले यहाँ दसैंको बिदा घुम्न जान उपयुक्त स्थानबारे चर्चा गरेका छौँ । 

रारा ताल
घुम्नको लागि आकर्षक ठाउँ हो, रारा ।पश्चिम नेपालको मुगु जिल्लामा पर्ने यो ताल समुन्द्र सतहदेखि २ हजार नौ सय ९० मिटरको उचाइमा छ । वरिपरि सल्लाको घारी नीलो शान्त ताल, सुन्दरताको एक टुक्राको अनुभव गर्न सकिन्छ । तालले घामको किरण अनुसार आफ्नो रङ बदल्ने गर्छ । रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । तालको पूरा भाग हेर्न चार हजार मिटरको उचाइमा तालको दक्षिण पश्चिममा रहेको मुर्माटप उक्लिनुपर्ने हुन्छ ।

खप्तड
सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने यो धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरको उचाइमा छ । खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ । भौगोलिक परिदृश्यमा हरियाली युक्त हल्का भिरालो चउरहरु, खोला नाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।

यो मौसममा हरियालीले ढाकिने खप्तड पुस महिनापछि भने सेताम्य हिउँले ढाकिन्छ । वैशाखदेखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु मन लोभ्याउने हुन्छन् । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् । फूल फुलेका फाँटको किनारमा रुखहरुसहितको सुन्दर बगैँचा गज्जबको अनुभव गर्न पाइन्छ । यहाँ २७० प्रजातिका चरा पाइन्छन् । साथै खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिङ्ग, गणेशस्थान, नागढुङ्गा, केदारढुङ्गा जस्ता धार्मिक स्थलहरु पनि छन्, जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रका रहेका ठूला–साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया राष्ट्रिय निकुञ्ज । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबईको बीचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको छ ।

हाल बबई उपत्यका निकुञ्जमा सबैको आकर्षण बनेको छ । द्वन्द्वकालमा बन्दरहेको निकुञ्जको चुरे क्षेत्रमा रहेको यो ठाउँ हाल खुला गरिएको छ । जहाँ पर्यटकले रात बिताउने अवसर पाउँछन् । २०४० सालमा राजा वीरेन्द्रले निकुञ्ज विस्तार गर्न साबिक सानोश्री पञ्चायतलाई स्थान्तरण गरेका थिए । तिनै ठाउँलाई अहिले बबई उपत्यका भनिन्छ । उपत्यकासम्म पुग्न राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराबाट करिब १० घण्टाको पैदल यात्रा वा जंगल सफारी पनि गर्न सकिन्छ । उपत्यकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ । तर, माछा मारेर खान पाइँदैन ।

निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका वनस्पतिले वन ढाकिएको छ । बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइने निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज मात्र नभएर थारु समुदायको मौलिक संस्कृतिका लागि पनि बर्दिया निकै प्रख्यात छ । बर्दियाको विभिन्न स्थानमा खोलिएका होमस्टे र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रख्यात छ ।

शे–फोक्सुण्डो
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ । यसको क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ । यो निकुञ्ज २०५० सालमा स्थापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासीक शे–गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो ।

शे–फोक्सुण्डो ताल ३९०० मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ । यस तालको लम्बाइ ४।८ किमी, चौडाइ १।६ किमी र गहिराई १४५ मिटर रहेको सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणले देखाएको थियो । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ ।

पोखरा
आँखै अगाडि विश्वको सातौँ अग्लो धौलागिरी हिमाल । त्यसैले पर्यटकहरु धौलागिरी हिमाल हेर्न म्याग्दीको पुनहिल पुग्छन् । यो स्थान धौलागिरी हिमशृंखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो । समुन्द्री सतहबाट ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे, नीलगिरीलगायत १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।

त्यस्तै पुन हिल अन्नपूर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । पुनहिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । नेपाल घुम्ने सोचमा हुनुहुन्छ भने पुनहिलको ट्रेकिङ गर्न सबैभन्दा उपयुक्त हुन्छ । घोरेपानी र पुनहिल ट्रेकलाई एक रगिंन यात्राको रुपमा लिन सकिन्छ । अन्नपूर्ण क्षेत्रबाट सुरु हुने यो यात्रा पोखरा पुगेर टुङ्गिन्छ । नेपालमा पदयात्राका लागि आउने पर्यटकको रोजाइको उत्कृष्ट देशभित्र पुनहिल पदयात्रा पर्छ ।

एकै स्थानमा ताल, हिमाल, मन्दिर, गुफा अवलोकन गर्न सकिन्छ पोखरामा । यसका साथै साहसिक खेलहरु प्याराग्लाइडिङ, बन्जी, जिप फ्लायर लगायत दर्जनौँ गतिविधि हुने भएकाले पनि यो क्षेत्रलाई पर्यटकीय राजधानी भन्ने गरिन्छ ।

अन्नपूर्ण बसेक्याम्प
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग । विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ । यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन । ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सहज हुन्छ । पदमार्गका सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु भएकाले पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ ।

पाथीभरा
विश्वको तेस्रो अग्लो हिमाललगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो, पाथीभरा । समुद्री सतहबाट ३ हजार ७९४ मिटरमा उचाइमा रहेको ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात रहेकी छिन् । भारतीयहरु ठूलो सङ्ख्यामा यहाँ आउँछन् । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ । असोज–कात्तिक महिनामा मौसम सफा हुने भएकाले पनि यतिबेला हिमाल हेर्ने उपयुक्त समय हो ।