एसिया कपको फाइनल खेल आज, उपाधिका लागि भारत र श्रीलंका भिड्दै

 काठमाडौँ - एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि भारत र घरेलु टोली श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

दुवै टिम एसिया कपमा सबैभन्दा सफल टिम हुन् । एसिया कपमा भारतले हालसम्म सातपटक उपाधि जितेको छ भने श्रीलंकाले छपटक उपाधि जितेको छ ।

आजको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । एसिया कपको सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो श्रीलंकाले बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

गत भदौ १३ गतेबाट सुरु भएको एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहेको थियो । पहिलो पटक एसिया कप खेलेको नेपाल समूह ‘ए’ मा रहेको थियो । नेपालको समूहमा भारत र पाकिस्तान रहेका थिए भने नेपाल दुवै टोलीसँग पराजित बन्दै एसिया कपबाट बाहिरिएको थियो ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका थिए । अफगानिस्तान पनि समूह चरणबाटै बाहिरिएको थियो ।

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेश पराजित बन्दै बाहिरिदा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्न लागेका हन् । यद्यपी सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको थियो ।