आज रामनवमी, भगवान् रामको पूजाआराधना गरी मनाउँदै 

काठमाडौँ - चैत्रशुक्ल नवमी अर्थात् रामनवमी । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी यो पर्व मनाउँदै छन् । 

त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका राम मर्यादापुरूषका रूपमा परिचित छन् । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ ।  ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ । 

रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । ​रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या भारत र ससुराली जनकपुर नेपाल क्षेत्रमा उत्सव चल्छ ।

रामनवमीका अवसरमा काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ । रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ ।