बालुवाटार, संसद् भवन र सिंहदरबार अगाडी आन्दोलन गर्दै मिटरब्याज पीडित

 काठमाण्डौँ - सरकार र मिटरब्याज पीडितबीच पटक–पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आज सोमवारदेखि पुनः आन्दोलन हुने भएको छ ।

मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रमहरू गर्ने जानकारी दिए ।

उनले जुन दिन बसे पनि एउटै कुरा दोहोरिरहेकाले सरकारी टोलीसँग वार्ता बस्नुको औचित्य नभएर ३ दिनअघि वार्ता भंग गर्दै निस्किएको र शान्तिवाटिकामा आन्दोलन जारी राखेको बताए ।

गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ । ३ दिनअघि वार्ता भंगको घोषणा गर्दै गृह मन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा पनि वार्ताका लागि तयारी अवस्थामा रहेको बताए ।