तारेभिर घटना प्रकरण : प्रेम प्रस्ताव अस्विकार गर्दा हत्या

काठमाडौँ । काठमाडौँको तारेभिरमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी सुस्मा लामाको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।
 प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुस्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विगत ८ महिनादेखि सुस्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसे । गोकर्णेश्वर नगरपालिका–३ बाट बुढानीलकण्ठमा पढ्न जाने उनीसँगै अरु दुई जना पनि थिए । माघ २२ मा बिहान सुस्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका हुन् । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको पत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

मृतकको कम्मर पेटी खोलेर हातमा बाँधेको भेटिएको छ । घाँटीमा मृतककै टाइले बाँधेको अवस्थामा प्रहरीले शव उत्खनन गरेको थियो । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरेर नजिकै रहेको घरमा फर्केका हुन् ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो ।