आजको शेयर बजार १२ अङ्कले घट्यो, झन्डै १० अर्ब रुपैयाँको कारोबार

काठमाण्डौँ - शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो ५४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १० अङ्कले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा झरेको छ । दिउँसो १ बजे २ हजार २ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घटेको हो ।

आज बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज ग्लोबल आईएमई लघुवित्त, नेपाल वेयरहाउजिङ र हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६५ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।