बेलायतमा आज १४ वर्षकै सबैभन्दा चिसो

एजेन्सी । बेलायतमा आज चिसो भएको त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।

यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो ।हिडडुलमा समेत समस्या भएको छ ।

बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो । चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।