गौशाला-२६ को फोटो सार्वजनिक गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएपछि पीडित भन्दै तस्वीर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर–२ घर भएका ३२ वर्षीय केशरमान राई छन् ।केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

राईले गौशाला–२६ को फोटो र नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी  दिए ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।