‘दिमाग खराब’ टिमले उठाएका मागलाई साथ दिने निर्माता संघको निर्णय

काठमाडौँ - चलचित्र निर्माता संघले ‘दिमाग खराब’ को टिमले उठाएका मागनप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज ९बिहीबार० बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्‍याउँदै साथ दिने निर्णय लिएको हो ।

दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ ।

यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’ का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता–कलाकार दीपकराज गिरीले जानकारी दिए ।


‘आम्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्छ भन्ने माग हामी निर्माताहरुले पहिल्यैबाट उठाइरहेका हौं । पटक पटक छलफल भए पनि सहमतिमा पुग्न सकिएको थिएन । अब चाहिँ निर्णायक ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा भयो’, गिरीले भने ।