मदन पुरस्कार ओझा र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान 

काठमाडौं - २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार आज अर्पण गरिएको छ ।

ललितपुरमा भएको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ऐँठनका लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गरेका हुन् ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार चार लाख रुपैयाँ छ । गुठीले यसअघि नै मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए । २०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् ।