सोलुखुम्बुको थामेमा बाढी : एकजना बेपत्ता, विद्यालय र स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो

काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन् ।

आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, थामेस्थित भोटेकोसीमा आएको बाढीका कारण दर्जनभन्दा बढी घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीले थामेका सात घर, पाँच होटेल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ । सोही क्षेत्रका सात घर जोखिममा रहेका प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

घटनास्थलमा प्रहरी चौकी थम्बुचे र नाम्चेबाट सुरक्षाकर्मी परिचालित भएका छन् । हाल पानीको बहाव घट्दै गएको प्रहरीले जनाएको छ ।