श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनले श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ औरहीस्थित खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रूबी जेठ २६ गतेदेखि बेपत्ता थिइन् । उनको शव शनिबार राति भेटिएको थियो ।

श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो ।

राजकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

उनका अनुसार राजले हत्या गरेको स्वीकार गरिसकेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।