आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १८ खर्ब तोकियो   

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबिच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिएका हुन् ।  अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गरेका छन् ।

यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको बजेटको लक्ष्य घटाएका थिए । उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दाबी गरे । 

अर्थमन्त्री महतले सरकारमाथि अस्वाभाविक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताए । उनले प्रधानमन्त्रीसँग कुनै विवाद नभएको र अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको जिकिर गरेका छन् ।