मन्त्री किराती भन्छन्-'यही वर्ष १० विमान थप्छौं, दसैंअघि नै प्रक्रिया सुरु हुन्छ' 

 काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आज  सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढेको भन्दै उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गर्ने बताए । नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउने एक मात्र विकल्प रहेको उनको भनाइ छ ।

उनले १० वटासम्म विमान नथपी पर्यटक नेपाल नआउने जिकिर गरे । दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले आजदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका निम्ति नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गरिने उल्लेख गरे ।