तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान हट्यो अवरोध

काठमाडौँ - कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ ।

अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए ।

महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरहेको उनले बताए । ‘पर्यटकको आवागमनमा कुनै अवरोध नभएपछि नेपाल भित्रिने पर्यटकको संख्यामा समेत बढोत्तरी हुने अपेक्षा लिएका छौँ,’ उनले भने ।

अध्यागमन विभागले चीनतर्फबाट समेत पर्यटक आवागमन सहज बनाउन मुस्ताङको कोरला र ताप्लेजुङको टिपताला नाकामा अध्यागमन कार्यालयको स्थापना गर्न लागेको उनले जानकारी दिए। हाल सञ्चालनमा रहेका तातोपानी, तिमुरबोटे र हिल्सा नाकाबाट पर्यटन आवागमनमा कुनै समस्या नरहेको उनले प्रस्ट पारे ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तेस्रो देशका पर्यटकले नेपालका सबै नाकाबाट सहज रूपमा आवतजावत गर्न पाउने भएपछि भारतीय ट्राभल एजेन्सीले नेपाल पठाउने पर्यटकको संख्यामा बढोत्तरी हुने विश्वास व्यक्त गरे ।