नेपाललाई भारतीय सहयोग : ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस प्रदान 

 काठमाण्डौँ -भारत सरकारले नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ ।​
काठमाडौंस्थित भारतीय राजदूतावासले आज एक कार्यक्रमको आयोजना गरी नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स र बसको चाबी हस्तान्तरण गरेका हुन् ।
सो समारोहमा मेयर तथा नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति थियो । 

उपहारस्वरूप आज हस्तान्तरण गरिएका कुल १०१ सवारी साधन मध्ये दुई वटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा एम्बुलेन्स र स्कूल बस प्रदान गर्दै आएको छ ।

सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।

यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।