रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्र्रहरीले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको चिङगार्ड गाउँपालिका घर भई नयाँ बानेश्वर बस्ने २८ वर्षीय सुरेश राना रहेका छन् ।

रानाले नवराज मल्ललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु, त्यसको लागि सात लाख रुपैयाँ लाग्छ र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ८० हजार रुपैयाँ तलब हुन्छ भनी पटक पटक गरी दुई लाख ६० हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानाको खोजतलास गर्ने क्रममा मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।