नेपाल टेलिकमले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

आइतबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको  १६ औँ  वार्षिक साधारणसभा यस्तो  निर्णय गरेको हो । आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई नगद वितरण गर्ने व्यवस्था मिलाएको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।