जो बाइडेनद्धारा पहिलो पटक इजरायली नेतृत्वको आलोचना 

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गरेका छन् । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरेका हुन् । 

मङ्गलबार दाताहरुसंग सहयोग संकलन कार्यक्रममा बाइडनले गरेको टिप्पणी हालसम्मकै कडा हो । इजरायललाई अमेरिकाको साथै युरोप र अन्य मुलुकको पनि समर्थन रहेको तर पछिल्ला अन्धाधुन्ध आक्रमणका कारण भने समर्थन गुमाउँदै गएको बाइडनले उल्लेख गरे । 

इजरायलको सैन्य अभियानमा लगाम लगाउन बाइडेनलाई आफ्नै डेमोक्रेटिक पार्टी भित्रबाट दबाब बढ्दो छ । हालै मात्र पनि वाशिंगटनले इजरायललाई आक्रमणमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सचेत गराएको थियो ।