चिनियाँ नागरिकको नेपाली बैंक खातामा करोड भन्दा धेरै रकम

काठमाडौं - एक चिनियाँ नागरिकको नेपाली बैंकको खातामा करोडमाथि रकम फेला परेको छ। अवैध विदेशी रकमसहित पक्राउ परेका चिनियाँ नागरिक फङ छेङवेनको बैक खातामा एक करोड २ लाख रकम फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित उनी जेठ २२ मा पक्राउ परेका थिए। ५८ वर्षीय फङ छाङवेन बटिक एयरको फ्लाइट नम्बर ओडी १८१ को उडानमार्फत क्वालालम्पुर जान लागेका उनको साथबाट विभिन्न देशका मुद्रासहित प्रहरीले पक्राउ गरेको थियो।

अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यान्ड बागेज चेकिङ गर्दा ९ लाख ८ हजार नेपाली रुपैयाँ, ४० लाख ५० हजार भियतनामिज दोङ, २ लाख ५० हजार लाओथियन किप, एक लाख १३ हजार ९५० थाइ भाट ५ हजार क्यानेडियन रियल, ७ हजार ८ सय ४० भारतीय रुपैयाँ, २ हजार अमेरिकन डलर, २४२ सिंगापुर डलर, ३५१ मलेसियन रिंगिट, २१ चिनियाँ युयान फेला परेको थियो। जुन रकम नेपालबाट विदेश लान अवैध मानिएको थियो।