आँधीका कारण अमेरिकामा दुई हजारभन्दा बढी उडान रद्द

एजेन्सी । अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण अमेरिकी विमानस्थलको दुई हजार बढी उडान रद्द भएको छ । दुई हजारभन्दा बढी उडानमा ढिलाइ  भएपछि सयौँ यात्रु अलपत्र परेका छन् । 

सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएको छ । सिकागोकै मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ ।

यस्तै, डेनभर अन्तर्राष्ट्रिय र मिल्वौकी मिचेल अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार, ७३७ म्याक्स ९ विमान ‘ग्राउन्डेड’ भएका कारण रद्द हुनुले पनि यो संख्यामा वृद्धि भएको हुनसक्छ ।

संघीय उड्डयन प्रशासन (एफए) ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यो साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएको छ । एफएए र बोइङले अझै पनि निरीक्षण ‘प्रोटोकल’मा सम्झौता गर्ने प्रयास गरिरहेका छन्, जसले ती विमानहरूलाई उडान सुरु गर्न अनुमति दिन्छ ।

यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाई आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ ।अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको बताइएको छ ।