बच्चाको तौल नबढे के गर्ने ?

डा. दिनेश धरेल

आफ्ना बच्चाको तौल कम हुँदा हामी चिन्तित हुन्छौं। उपचारका लागि बच्चालाई डाक्टरकहाँ लिएर जाने गरेका छौं। त्यस्तो चिन्ता जायज र स्वाभाविक छ।

आफ्नो उमेर अनुसार बच्चाको तौल निकै कम हुनु वा उमेर अनुसार वृद्धि नहुनु राम्रो लक्षण होइन। बच्चाको तौल उसको शारीरिक तथा मानसिक विकास र स्वास्थ्यसँग जोडिएको हुन्छ। त्यसकारण तौल कम हुनुको कारण र त्यसको निराकरणबारे बाबुआमाले थाहा पाइराख्नु आवश्यक हुन्छ।

बच्चा जन्मेको पहिलो सातामा केही ग्राम तौल घट्ने गरे पनि त्यसपछि निरन्तर तिब्र गतिमा तौल बढिरहन्छ। तर केही बच्चामा जुन रफ्तारमा तौल बढ्नुपर्ने हो, त्यस्तो हुँदैन। उनीहरु मध्ये धेरैजसोमा लम्बाई वा उचाई पनि उमेर अनुसार बढेको हुँदैन। त्यस्तै बच्चाको तौल उसको लम्बाई वा उचाइको तुलनामा कम हुनसक्छ। त्यस्तो अवस्थालाई मेडिकल साइन्समा ‘फेलर टु थ्रैव’ भनिन्छ।

बच्चामा तौल नबढ्नुको कारण राम्ररी नखाएर वा रोग लागेर हुनसक्छ। ‘फेलर टु थ्रैव’ आफैंमा रोगको नाम होइन। त्यो त कुनै रोग वा कुपोषणको लक्षण मात्र हो। बच्चाको शारीरिक तथा मानसिक विकास तिब्र गतिमा हुनुपर्ने समयमा देखिने समस्या हो।

साधारणतया बच्चा जन्मेको ५ महिना भित्र जन्म तौलको दुई गुणा र १२ महिना भित्र तीन गुणा भैइसक्छ भने पहिलो दुई वर्ष भित्र मस्तिस्कको विकास झन्डै ८० प्रतिशत भइसक्छ।

बच्चाको तौल नबढ्नुका निम्न कारण हुन सक्छन्:

१.    खान पर्याप्त नहुनू - गरिबी, भोकमरी, प्राकृतिक विपद वा मानवीय संकटका बेला बच्चाका लागि पर्याप्त खाने कुरा उपलब्ध नहुनसक्छ। कहिलेकाहिँ बाबुआमाले नै अज्ञानताका कारण पर्याप्त र सन्तुलित आहार नदिएका हुनसक्छ। पूर्ण रूपमा स्तनपान नगराउँदा र सही समयमा उपयुक्त खालको अतिरिक्त आहार सुरु नगर्दा शिशुहरू कुपोषित हुनपुग्छन् र तौल बढ्दैन।

२.    बच्चाले थोरै मात्र खाइदिनू: बिरामी बच्चाले राम्ररी आहार खान सक्दैनन्। त्यस्तै समयभन्दा पहिला नै जन्मिएका, धेरै कम तौल भएका, वा विकासमा ढिला भएका बच्चाले शरीरलाई आवश्यक पर्ने भन्दा कम खाने गर्छन्। त्यस्तै स्नेहपूर्ण पारिवारिक वातावरण र उचित स्याहार नहुँदा बच्चाले खानेकुरा राम्ररी खाँदैनन्।

३.    खानेकुराको एलर्जी : कुनैकुनै खाने कुरा बच्चाले सहँदैनन्। उदाहरणका लागि गाई भैंसीको दुधमा पाइने प्रोटिनले केही बच्चालाई एलर्जी हुन्छ। त्यसैकारण स्तनपान जारी राख्न र सम्भव भएसम्म बच्चा एक वर्ष नपुग्दासम्म जनावरको दुध सुरू नगर्न सल्लाह दिइएको हो। अण्डा, मासु, बदाम, गहुँ आदिका कारण पनि बच्चालाई एलर्जी हुनसक्छ। एलर्जी हुँदाहुँदै त्यस प्रकारका खानेकुरा बच्चालाई दिइरहँदा उनीहरूको तौल नबढ्ने हुन सक्छ।

४.    संक्रमण : बच्चामा पिसाव संक्रमण सबैभन्दा बढी देखिने र गम्भीर प्रकारका संक्रमण मध्येको एक हो। त्यसकारण बच्चाको तौल बढिरहेको हुँदैन। त्यस्तै पटक-पटक पखाला लागेर, जुका परेर, क्षयरोग वा एड्स भएर पनि तौल नबढ्ने हुन सक्छ।

५.    पाचन प्रणालीमा समस्या: दुध वा खाने कुरा खाए पछि कहिलेकाही अलिकती बाहिर निस्कनु साना बच्चाका निम्ति सामान्य कुरा हो। तर त्यस्तो भइरहन्छ भने त्यो ‘रिफ्लक्स’ नाम गरेको समस्या हुनसक्छ। त्यस्तो अवस्थामा पनि बच्चाको तौल नबढ्न सक्छ। कहिलेकाहिँ पाचन नली, पेट वा आन्द्राको रोगका कारण बच्चाले खान मन नगर्ने, पचाउन नसक्ने वा पोषणतत्व ग्रहण गर्न नसक्ने हुन्छ र तौल बढ्दैन।

६.    दिर्घ रोग : मुटुमा प्वाल हुने समस्या केही बच्चामा देखिन्छ जसले गर्दा उनीहरुमा पटक-पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ। पोषण चाहिने बेलामा झन् खान नसक्ने भएर तौल बढ्दैन। मधुमेह, थाइराइडको समस्या, मृगौला फेल हुने विभिन्न खाले समस्या पनि हुन् सक्छ।

तौल नबढ्नुको कारण तत्काल थाहा नहुन पनि सक्छ। कतिपय अवस्थामा बच्चा बिरामी परेर वा कुनै कारणले नखाएर तौल एक्कासी घट्छ वा केही समयको लागि बढ्दैन, सन्चो भएपछि खान थालेर साबिक झैँ तौल बढ्न थाल्छ। त्यस्तो हुनु सामान्य कुरा हो, तर बच्चामा कुपोषिण पहिलेदेखि नै छ भने गम्भीर कुपोषण हुन सक्छ। त्यो खतरनाक अवस्था हो। यसले जटिलता ल्याउन र बच्चाको ज्यान पनि लिन पनि सक्छ।

सामान्य तरिकाले बढिरहेको पहिलो केही बर्षमा बच्चाको तौल लगातार तीन महिना वा बढी समयसम्म बढिरहेको छैन वा घटेको छ भने त्यो चिन्ताको विषय हुन्छ। हामी बच्चाको खानपान, स्याहार र स्वास्थ्य सम्बन्धी केही कुराहरु सोधेर, बच्चालाई जाँचेर र आवश्यक परेमा पिसाब, दिशा, रगत लगाएत केही परिक्षणहरु गरेर तपाइको बच्चाको तौल नबढेको कुरा सामान्य हो वा चिन्ताजनक कुरा हो छुट्याउने गर्छौं।

बच्चाको तौल, लम्बाई वा उचाई र टाउकोको गोलाई सामान्य तरिकाले बढिरहेको छ की छैन भन्ने थाहा पाउन नियमित रुपमा नापेर विश्व स्वास्थ संगठनले प्रयोगमा ल्याएको चार्टमा राखेर तुलना गर्नुपर्ने हुन्छ।

एक पटक नाप हेरेर बच्चाको वृद्ध ठीक भए नभएको यकिन गर्न गार्हो हुन्छ। सबै स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा वा नियमित स्वास्थ्य परीक्षणमा आउँदा बच्चाको तौल वा नाप लिएर वृद्धिको अनुगमन गर्नसके समयमा नै समस्या पहिचान हुन सक्छ।

बच्चालाई शिशु कक्षा वा स्कुलमा भर्ना भएदेखिनै नियमित स्वास्थ्य परीक्षण गरि उसको लागि स्वास्थ कार्ड बनाएर वृद्धि र विकासको अनुगमन गर्नु पनि अर्को सम्भावित समाधान हो। हालसम्म हाम्रो विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ प्रणालीसँग एकीकृत रुपमा विकास हुन् सकेको छैन। वाल स्वास्थ्यको रक्षा तथा प्रबर्धनका निम्ति विकसित देश जस्तै नेपालमा त्यस्तो एकिकृत प्रणाली बनाउनु आवश्यक छ।

कुनै कारणले बच्चाको तौल बढिरहेको छैन भने उसलाई पर्याप्त मात्रामा पोषण सुनिश्चित गरिनु पर्छ। कुनै शारीरिक रोगले तौल नबढेको हो त्यसको उपचार गर्नुपर्छ। जस्तै मुटुमा प्वाल भएर मुटुमा बाधा परेको छ वा पटक पटक निमोनिया भइरहन्छ भने औषधि र अपरेशन गर्नुपर्छ, क्षयरोग वा एच. आइ. भी. / एड्स लागेको छ भने त्यसको औषधि सेवन गर्नुपर्छ।

बच्चाले खाने कुरानै पाएको छैन वा न्यूनतम स्याहार नै पाएको छैन भने कुनै खालको सामाजिक सहयोग जुटाएर वा अभिभावकलाई उपयुक्त पोषणको लागि सबल बनाएर भए पनि सन्तुलित आहार र नियमित स्याहारको व्यवस्था गर्नुपर्छ। कुपोषणको कारणले तौल नबढेको हो भने खानामा क्यालोरीको मात्रा बढाउनु पर्नेहुन्छ।

कहिलेकाही यस्ता बच्चालाई अस्पताल भर्ना गर्नुपर्ने पनि हुन्छ। कुनै बच्चालाई नाक वा मुखबाट ट्युब राखेर खुवाउनु पर्ने पनि हुन सक्छ। आवश्यकता र सुविधा हेरेर कुनै कुनै बच्चालाई पोषण केन्द्रमा पठाउने गरिन्छ। गम्भीर कुपोषण भएका बच्चाको तौल सामान्य हुन महिनौ लाग्न सक्छ।

रोग वा कुपोषणले तौल नबढेका केही बच्चालाई हुन सक्ने अनेक समस्याका लागि धेरै थरि स्वास्थ्यकर्मी र सहयोगी हातहरु जरुरी पर्छ र वालरोग बिशेषज्ञले आफ्नो नेतृत्वमा आमा बुबा र अभिभावकको सहभागितामा ती आवस्यकता पूरा गर्न सहयोग गर्छन्।

तपाईँको बच्चाको तौल नबढेको कुरा कत्तिको गम्भीर हो र त्यसको लागि के गर्नुपर्छ भन्ने कुरा धेरै कुराले निर्धारण गर्ने हुँदा डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ।

(वाल रोग विशेषज्ञ डा.धरेल धरान स्थित बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप प्राध्यापक हुन्।)