युवालाई समाज रुपान्तरणको माध्यम बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरेका छन् ।

आज (सोमबार) अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

पौडेलले बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताए ।

परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवा संवद्ध समस्या तथा चुनौतिलाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्नसके समृद्धिका लागि कतै भौंतारिनु नपर्ने जिकिर गरे।

व्यवसायिक सीप र प्रविधिमा न्युन पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशिल वातावरणको सीमितता रहेको राष्ट्रपति पौडेलले बताए ।