यस वर्षको मनसुनबाट १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने 

काठमाण्डौँ - सरकारले यस वर्षको मनसुनबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट दुई लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताए । पहिलेका तथ्याङ्कअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् । 

यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।