फागुन महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, सर्वाधिक घटाउने बैंक कुन ? 

काठमाण्डौँ - बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अधिक हुँदा वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर घटाएका छन् ।
माघको तुलनामा फागुनमा अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । केही बैंकले भने स्थिर नै राखेका छन् ।

बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकको औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ ।
माघ महिनामा ८.११ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा घटेर ७.७० प्रतिशतविन्दुमा सीमित भएको छ । त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३८ प्रतिशतविन्दु घटेको छ। 

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउनेमा कृषि विकास बैंक रहेको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७‍.२६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.८१ प्रतिशतविन्दु घटाएको हो ।