संरक्षकमा बसेर अब नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई जनार्दन शर्माको प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ लाई अब पार्टीको संरक्षक भएर बस्न सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठक अन्तर्गत साउन २६ गते १४ पृष्ठ लामो लिखित सुझाव पेस गर्दै शर्माले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने   प्रस्ताव गरेका हुन् ।

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, “अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।”

शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने,’ शर्माले नेतृत्व पुस्तान्तरण भन्दै लेखेका छन्, ‘हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने ।’