करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र

काठमाण्डौँ - चुरे सिरानको सर्रे खोलामा करिब एक महिनादेखि एक्साभेटर प्रयोग गरी उत्खनन तीव्र पारिएको छ । चुरे संरक्षित क्षेत्रभित्र भइरहेको सीमाहीन दोहनबारे नियामक निकाय जानकार भएर पनि मौन छ । २०७८ सालमा यसै खोलामा उत्खनन हुँदा रोक्न पुगेका शिवशंकर महतो अहिले खोला बग्ने सिरहाको धनगढीमाई नगरपालिकाका मेयर छन् ।

अहिले उनैले चुरे संरक्षित क्षेत्रका खोला उपकरणको माध्यमबाट उत्खनन गर्न छुट दिएका छन् । त्यो बेला चुरे संरक्षित क्षेत्रभन्दा बाहिर उत्खनन गर्दा मापदण्डविपरीत भयो भन्दै रोक्न पुगेका महतोले अहिले चुरे संरक्षित क्षेत्रभित्र उत्खनन गराएको देख्दा स्थानीय आश्चर्यमा परेका छन् । 

स्थानीय खगेश्वर यादव भन्छन्, सत्ताबाहिर हुँदा चुरे संरक्षणको नारा दिने र सत्तामा पुग्दा चुरे दोहनलाई संरक्षण गरेको देख्दा आश्चर्य लागेको छ। २०७८ जेठ २१ गते सर्रे खोला उत्खनन बन्द गर्नुपर्ने भन्दै माइन्युटमा पहिलो नम्बरमै हस्ताक्षर गर्ने महतो मेयर भएपछि चुरे र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न स्वीकृति दिने पनि पहिलो मेयर हुन् ।

धनगढीमाई नगरपालिका खानी ग्राभेल र खोला खन्ने मामिलामा अगाडि बढ्ने यादव  बताउछन् । यस पालिकामा अरू पालिकाको तुलनामा क्रसरको संख्या पनि बढी छ । सञ्चालित क्रसर पनि अवैध छन्। अवैध क्रसर र अवैध उत्खननलाई स्थानीय प्रहरी प्रशासन र सरकारको समर्थन छ । जल, जमिन र जंगलको अनियन्त्रित दोहनले मानव र पशुपक्षीको जीवन संकटमा पर्दै गएको छ । यो समाचार नागरिक दैनिकमा छ ।