वैशाख २ गतेदेखि भर्ना अभियान सुरु हुँदै

काठमाडौं - नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र-२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए।

केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन्। केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पुर्‍याएको थियो।