क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन, अब कुनैपनि क्रिकेट खेल्न नपाउने

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी ठहर गरेको थियो । उनलाई हिजो अदालतले ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय सुनाएको थियो । उनलाई सजाय सुनाइएलगत्तै क्यानले यही कारण देखाउँदै लामिछानेलाई निलम्बन गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय समेत निर्धारण भएकोले’ लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरिएको छ ।