यस वर्षको एसईई परीक्षा चैत्र पहिलो साता हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत महिनाको  पहिलो हप्ता हुने जानकारी गराएका छन् ।  शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।  
शिक्षा ऐनमा सर्टिफिकेट बोर्डले  वितरण गर्ने भएकाले केन्द्रबाट माघको पहिलो सातामा रुटिन निकाल्ने भएको छ । 
संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुने/नहुने अन्योल रहेकालाई अध्यक्ष शर्माले यो वर्ष परीक्षा हुने स्पष्ट पारेका हुन् । 

जाजरकोटमा ४ हजार ८०० विद्यार्थीले एसईईका लागि रजिस्ट्रेसन फारम भरेका छन् । ती मध्ये २ हजार १०० विद्यार्थी भूकम्पबाट प्रभावित भएको अध्यक्ष शर्माले बताए । भूकम्पबाट प्रभावित जिल्लाहरूमाअहिले पठनपाठन निरन्तर चलिरहेको भन्दै पढाइका कारण कुनै समस्या नहुने बताए ।

जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन गर्न र परीक्षा केन्द्र राख्न उपयुक्त छ/छैन भनेर प्रधानाध्यापकहरूसँग भेटेर छलफल गरेको पनि अध्यक्ष शर्माले जानकारी दिए। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए।