सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी 

 काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेसी रहेको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सन्दीपको मुद्दामा गत बिहीबार मुद्दामाथि सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो । न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो ।