काठमाडौँ–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौँ । सोमबार साँझ ५ बजेदेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडकखण्डमा रातिदेखि एकतर्फी गाडी सञ्चालनमा आएको छ ।

अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा अवरुद्ध सडक साढे ६ घण्टापछि अर्थात् राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो, अहिले पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याइएको छ ।’

सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँ आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए ।

राजमार्गमा ठूलो मात्रामा लेदो थुप्रो लागेकाले खुलाउन समय लागेको प्रहरीले जनाइएको छ । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।