लोकतन्त्रलाई मजाक नबनाउन ठूला दललाई रास्वपाको चेतावनी   

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा  सांसद् सन्तोष परियारले ठूला दललाई  शक्तिको आडमा राज्य चलाउन सकिन्छ भन्ने मानसिकता हटाउन आग्रह गरेका छन्।​ 

मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै ​ उनले सांसद्को गणनामा धेरै हुँदैमा सत्ता र शक्ति प्रदर्शन गरेर राज्य चल्न नसक्ने भन्दै एक वर्ष तपाईंहरू शक्तिमा भए पनि सधैँ शक्ति प्राप्त नहुने उनले बताए। 

‘शक्ति सधैँ आफ्नो पक्षमा हुँदैन। त्यसैले ठूला दललाई आफ्नो खाडल आफैँ नखन्न आग्रह गर्दछु’ उनले भने।  उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने समाचार बाहिरिएको भन्दै उनले लोकतन्त्रको मजाक नगर्न सुझाव दिए। 

‘रानालाई पदबाट हटाउने कुरा समाचारहरूमा आएका छन्। त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जान्छौँ’, उनले भने, ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र हो। यो कुरा  पार्टीलाई मान्य हुँदैन।’

प्रमुख सचेतक परियारले सत्तारुढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोजे त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताए। ‘हाम्रो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य हुन्न । रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लनेछन्’ उनले भने।