अर्घाखाँचीमा कार दुर्घटना हुँदा बालकको मृत्यु,  ७ जना घाइते

रूपन्देही - अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार बुधबार पाणिनी गाउँपालिका ८ कोलडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ ।

घाइते हुनेमा भूमिकास्थान ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, छोरी इभान्सी क्षेत्री, पोखरा( १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत छन् ।

घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।