कोशीमा कार्की दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त 

काठमाण्डौँ - सर्वोच्च अदालतले समयसीमा नै तोकेर सरकार गठनको आदेश दिएको अर्को दिन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दोस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । ४८ घन्टाभित्र सरकार गठन गर्न सर्वोच्च अदालतले दिएको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्रालय र एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएका हुन् । यस्तै, सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै सर्वोच्चले बिहीबार ४८ घन्टाभित्र संविधानको धारा १६८ ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोहीअनुसार कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भए ।

यसअघि २४ पुस ०७९ मा माओवादी, राप्रपा र जसपाको समर्थनसहित मुख्यमन्त्री नियुक्त भएका थिए । तर, संघ सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशीमा माओवादी र जसपा सरकारबाट बाहिरिएपछि कार्की नेतृत्वको सरकार ढलेको थियो ।