एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले हरायो 

कार्डिफ - एकदिवसीय शृङ्खलाको पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २९२ रनको लक्ष्य न्युजिल्याण्डले २६ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पछ्याएको हो ।

न्युजिल्याण्डका लागि डेभन कनवे र डेर्यल मिचेलले शतक बनाउँदै जीतको आधार तय गरे । प्लेयर अफ द म्याच घोषित कनवेले १२१ बलमा १११ रन बनाए । उनले यसक्रममा १३ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, मिचेलले मात्र ९१ बलमा ११८ रन बनाए । उनले ७ चौका र ७ छक्का हिर्काए । विल यङ र हेनरी निकोलसले क्रमशः २९ र २६ रनको योगदान दिए । इंग्ल्याण्डका लागि डेभिड विली र अदिल रसिद एक–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २९१ रन बनाएको थियो । टोलीका लागि कप्तान जोस बट्लरले सर्वाधिक ७२ रन बनाए । त्यस्तै, डेविड मलानले ५४ रन बनाउँदा बेन स्टोक्स र लियाम लिभिङस्टोनले समान ५२–५२ को स्कोर बनाए ।

न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।