कुलमानको योजना : सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गरिने 

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको जनाएको छ ।

शुक्रबार आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोउन्नतीमा व्यापक सुधार भएको बताए ।

पत्रकार सम्मेलनमार्फत कार्यकारी घिसिङले भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा रहेको बताए । 

नेपाल–भारतबिचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।

यसैगरी इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन कार्यान्वयनका चरणमा रहेको नेपाल र भारतबीच थप प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । नेपाल, भारत र बङ्गलादेशबिचको विद्युत् व्यापारलाई थप सहज बनाउन इनरुवाबाट अनारमणिसम्म ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको उनले बताए ।