अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर २ हजार भन्दा धेरैको मृत्यु

 काठमाडौँ - पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको तालिवान सरकारका प्रवक्ताले आइतवार बताएका छन् । यो दुई दशकमा मुलुकमा गएको सबैभन्दा घातक भूकम्पमध्ये एक हो ।

पश्चिमी अफगानिस्तानमा शनिबार गएको शक्तिशाली पराकम्पनपछि आएको ६.३ म्याग्निच्युडको भूकम्पले ठूलो संख्यामा मानिसको ज्यान गएको देशको राष्ट्रिय प्रकोप प्राधिकरणले जनाएको छ ।

तर सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ता अब्दुल वाहिद रायनले हेरातमा भूकम्पमा परी मृत्यु हुनेको संख्या सुरुमा भनिएको भन्दा बढी रहेको बताए । ‘करिब ६ वटा गाउँ ध्वस्त भएका छन् र सयौं नागरिक भग्नावशेषमुनि दबिएका छन्’, उनले तत्काल सहयोगको लागि आह्वान गर्दै भने ।

संयुक्त राष्ट्रसंघले शनिबार ढिलो गरी ३२० जनाको मृत्यु भएको प्रारम्भिक आंकडा दिएको थियो तर पछि भने यो संख्या अझै प्रमाणित भैरहेको बताएको छ। स्थानीय अधिकारीहरूले दिएको अपडेटमा ४ सय ६५ घर ध्वस्त भएको र थप १३५ घरमा क्षति पुगेको बताइएको छ ।