बेनी–जोमसोम–कोरला सडकको आठ खण्ड निर्माण सकियो

म्याग्दी - राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सीमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि सुुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो ।

म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म रु छ अर्बभन्दा बढी खर्च भइसकेको छ । योजनाका प्रमुख जगत प्रजापतिले छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुई वटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए ।

‘एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुुस्ताङको थासाङ गाउँपालिका–५ को कैकुुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ’, उनले भने, ‘कागबेनी–कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ–छोसेरबाहेक छखण्डमा ग्राभेल गरिएको छ ।’

एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर–राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएका योजना प्रमुख प्रजापतिले जानकारी दिए ।
तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौँ खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् । ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुुगेको छ ।