महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दै

 काठमाण्डौँ - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियामा शुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् । अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।