प्रहरीमा दुई विशेष दरबन्दी : देउती र नविन्द बन्दै डीआईजी

 काठमाडौँ - नेपाल प्रहरीका दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई बढुवा गर्न प्रहरी नायब उपरीक्षक डीआईजीको दरबन्दी थपिएको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।

जस अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केनाइन कार्यालयमा रहने गरी डीआईजीको दरबन्दी थप भएको छ ।सीआईबी मातहत रहेको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्याल र प्रहरीको कुकुरसम्बन्धी केनाइन कार्यालयकी एसएसपी डा। देउती गुरुङलाई बढुवा गर्ने गरी दरबन्दी थप भएको स्रोतले जानकारी दिएको छ । अर्याल साइबर ब्यूरो स्थापना हुनुअघि केन्द्रीय अनुसन्धान ब्यूरोमा साइबर शाखा प्रमुख थिए । ब्यूरो स्थापना हुँदा उनी त्यता पठाइएका थिए ।

उनीहरुको अवकाशपछि दरबन्दी स्वतः खारेज हुने गरी डीआईजीको पद थप भएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए । यसअघि प्रहरीको सञ्चार निर्देशनालयमा डीआईजी राजीव सुब्बालाई एआईजी बनाउन दरबन्दी थप गर्ने प्रयास भएको थियो । यद्यपि, दरबन्दी नथपिएपछि एक वर्ष अवधि बाँकी छँदै उनले राजीनामा दिएका थिए । संगठनमा आफूभन्दा जुनियरहरु माथिल्लो पदमा पुगे पनि प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले उनले राजीनामा दिएका थिए ।