लगानी सम्मेलन भव्य हुने अर्थमन्त्रीको दाबी

काठमाण्डौँ - तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भएको छ ।  

बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।  

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिए । 

‘योभन्दा अगाडि अप्रिल २८–२९ बैशाख १६–१७ मा हामी लगानी सम्मेलन गर्दैछौं । यो सम्मेलनलाई उपलब्धीमूलक बनाइयो भने नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी बढ्ने सम्भावना छ । त्यसकारण हामीले छाती फराकिलो बनाउनुपर्ने आवश्यकता छ ।’ डा महतले भने ।