हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

मकवानपुर - साढे तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ ।
सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उद्योग व्यवस्थापनले हालै बोलपत्र आह्वान गरिएको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ सय मेट्रिकटन कोइला ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।