कोशी प्रदेश सभा बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

 काठमाण्डौँ - कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए ।

गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो । एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ । एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन् ।