मोटरसाइकल भिरबाट खस्दा धादिङ सिद्धलेकका एक युवक र युवतीको मृत्यु !

काठमाडौँ - काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा भेटिएका युवक र युवतीको सनाखत भएको छ । बुधबार साँझ दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो ।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत भेटिएका पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल हुन् । त्यसैगरी युवती चाँगुनारायण नगरपालिका– ५ भक्तपुरकी ३२ वर्षीया सविना राई हुन् । बुधबार दिउँसो दक्षिणकाली नगरपालिका– ८ केराबारी भन्ने ठाउँको अप्ठ्यारो भिरमा कालो जिन्सको पाइन्ट र खैरो टिसर्ट लगाएको युवक तथा कालो जिन्स पाइन्ट, आकासे रंगको टिसर्ट लगाएको तथा रातो लेडिज ब्याग बोकेको अवस्थामा युवतीको शव फेला परेको थियो ।

स्थानीयले एकै ठाउँमा महिला र पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थामा शव निकालेको थियो ।

‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले भने, ‘केही दिनअघि नै उनीहरु दुर्घटनामा परेका हुन सक्छन् ।’ घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ । अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।