आजको मौसम : देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा 

 काठमाडौँ - देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
सुदूरपश्चिम, कर्णाली, लुम्बीनी र कोसी प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागले राति कोसी, वाग्मती र गण्डकी  प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुसँगै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।