शेयर बजारमा सामान्य वृद्धि  

काठमाडौं । शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार ९ दशमलव ४४ अंक बढेर २०८५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि केही बढेको छ । मंगलबार ३१५ वटा कम्पनीको ७६ लाख २४ हजार कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

बजारका १३ वटा उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । समाज लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।

सामलिङ पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक दश प्रतिशत गुमाएका छन् भने सोमबार १० प्रतिशतले बढेको नेपाल टेलिकमको शेयर मूल्य मंगलबार भने ५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार पनि हिमालयन रि इन्स्योरेन्सको ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।