ओमानसँग नेपाल सुपर ओभरमा पराजित

काठमाडौँ - किर्तिपुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानसँग सुपर ओभरमा पराजय व्यहोरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पच्छ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो ।

यसअघि नियमित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको ओमानले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । अकिब इल्यासले ३३, जीसन मकसूदले २६, मोहम्मद नदीमले २४, आयन खान र मेहरन खानले समान १० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी, गुलशन झा, अविनाश बोहरा र विवेक यादवले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए । कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए । नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेकोले यो खेल दुवैका लागि प्रतिष्ठाको मात्र विषय हो ।