नेपाललाई १० विकेटले हराउँदै भारत सुपर चारमा

काठमाडौं - एसिया कप क्रिकेट अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेल वर्षाका कारण डिएल मेथड अनुसार २३ ओभरमा झरेको थियो ।

२३ ओभरमा १४५ रनको लक्ष्य पाएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्‍यो । भारतका ओपनर रोहित शर्मा र शुभमन गिलले अर्धसतक बनाए । शर्माले ५९ बलमा ७४ रन बनाए भने गिलले ६२ बलमा ६७ रन बनाए । नेपालका सबै बलर विकेटबिहिन रहे ।

वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । २५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ र कुशलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

मिडल अर्डरका ब्याटर नचलेको खेलमा नेपालका लागि आसिफ शेख र गुल्शन झाले ३१ रनको साझेदारी गरे । गुल्शन २३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ५ रन, भीम शार्की ७ तथा कुशल मल्ल २ रनमा आउट भए ।