मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छ : सांसद भण्डारी

काठमाडौँ । कांग्रेस सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताए। त्यस्तै जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको शेयर दिनुपर्ने उनले बताए।

उनले कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउन सके रोजगारी सिर्जना हुने पनि बताए। सांसद भण्डारीले विदेशमा रहेका युवाहरुको पैसा बैंकमार्फत ल्याएर जलस्रोत, पर्यटन, सडक तथा सुरुङमार्गमा शेयर दिनुपर्ने बताए। उनले कुनै प्रकारको ऋण भने लिनु नहुने बताए।

उनले भने, ‘मुलुक बनाउने के गर्नुपर्यो भने भारत र चीनको बीचमा रहेको नेपाल शिक्षा र स्वास्थ्यको हब गराउनुपर्यो। जलस्रोतमा लगानी गरेर सीमान्तकृत वर्गलाई शेयर बनाउनुप¥यो। कृषिलाई बढावा दिनुप¥यो। र आइटीको हब बनाउनेबित्तिकै यसले मुलुकमा रोजगारी पनि दिन्छ। देशको आम्दानी पनि बढ्छ। आयस्रोत कहाँबाट ल्याउँछौँ भन्दाखेरी अब ऋण नखोज्ने। विदेशमा रहेका युवा, युवतीको पैसा एउटा बैंकबाट ल्याएर विकासमा लगाइदेउ। जलस्रोतमा, पर्यटनमा, सडकमा, सुरुङमार्गमा शेयर गरिदेउ। नाफा पनि हुन्छ। उनीहरु पनि नेपाल आउँछन्। हामीले कसैको ऋण लिनुपर्दैन।’

त्यस्तै एक वर्षका लागि उद्योग खोल्न लगानीको आयस्रोत देखाउनु नपर्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए।